वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का पूर्व वडा अध्यक्ष ग्यासुदीन मियाँले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
मियाँलाई आइतबार पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जसपा प्रवेश गराएका हुन् ।
वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रम विच मियाँलाई जसपाको राजनीतिक समिति सदस्यसमेत रहेका यादव र सिंहले फूलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मियाँ गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका द्वारिका महतोसँग पराजित भएका थिए ।
जसपा प्रवेश गरेका मियाँले आफ्नो पूरानो घर फिर्ता आएको बताएका छन् । केही दिनका लागि बाटो बिराएर अन्यत्र गएपनि पुन: आफ्नो घर फिर्ता भएको मियाँले बताए । ‘केही दिनको लागि बाटो बिराएर अन्यत्र पुगेको थिए, आज पुन: आफ्नो घर फिर्ता हुँदा खुसी लागेको छु,’ मियाँले भने ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर मियाँको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।