वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा नेता कार्यकर्ताहरुसँग चुनावी छलफल गरेका छन् । सोलखपुरमा सांसद् प्रदीप यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित ऐतिहासिक थारु नाँचघरमा आयोजित छलफल कार्यक्रममा सहभागी जसपाका अगुवा नेता कार्यकर्ता र स्थानीय बुद्धिजीवीहरुले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफुहरु लागि परेको बताए ।
उनिलहरुले पर्सा-१ का जनताले पनि चुनाव ताका मात्रै गाँउघरमा आउने तर चुनाव जितेर गइसकेपछि फर्केर पनि नआउने नेता भन्दा विकासको काम गर्ने र जनताको साथमा रहने उम्मेदवार यादवलाई यसपालि फेरि मत दिएर जिताउने मनसाय बनाइसकेको पाइएको बताए । त्यसका कारण पर्सा-१ मा प्रतिनिधीसभा सदस्यमा यादवको जित सुनिश्चित हुदै गइरहेको उनिहरुको भनाइ थियो ।कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले विगतको पाँच बर्षको कार्यकालमा आफुले पर्सा क्षेत्र नम्बर १ को विकास र समृद्धिलाई मुलमन्त्र बनाएर कामहरु गरेको बताए ।
यहि क्षेत्रमा पर्सा मात्र नभइ नेपाललाई नै अन्तराष्ट्रिय स्तरमा चिन्हाउने गरि अन्तराष्ट्रिय स्तरको प्राकृतिक चिडियाखाना निर्माणको काम पनि शुरु गराइसकेकाले जनताले अवश्य मूल्यांकन गर्ने यादवले बताए ।यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को भेडीयाहीमा नेपाली कांग्रेस त्यागेर दुई दर्जनभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका स्थानीय युवा नेता रामनन्द चौधरीको नेतृत्वमा उनीहरुले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई यादवले फूलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।