वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ ।
शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट महादेवपट्टीले संयुक्त रुपमा सवारी साधन चेकजाँच गरिरहेका थिए ।हुलाकी राजमार्ग अन्र्तगत जिराभवानी गाउँपालिका–२ दुई लाटोमाई मन्दिर नजिक चेक प्वाइन्ट राखिएको थियो । सोही क्रममा सुवर्णपुरबाट आउँदै गरेका ना २ ह १४५४ नम्बरको अटोरिक्सालाई सशस्त्र प्रहरी निरीक्षक साखले रोक्न खोजेका थिए । तर अटो रोकिएन, उनैलाई ठक्कर दियो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले अटो चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको बताए । अटोसहित चालक जगरनाथपुर गाउँपालिका–१ बस्ने सीताराम रायलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको छ ।