वीरगंज । आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेका छन् ।
बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार चौधरीले चुनावी प्रचारप्रसारमा गाडीको नम्बर नै परिर्वतन गरी प्रयोग गरिएको पाइएको हो । उनले रातो-निलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन् । बारा जिल्ला घर भएका मन्त्री चौधरी केही हप्तादेखि यतै छन् ।
उनले चुनावी प्रचारप्रसारका निम्तिसमेत सरकारी गाडी प्रयोग गर्दै आएका स्थानीय राम एकबाल चौधरीले बताए । निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।