वीरगंज । प्रहरीले बाजुरा र बागलुङबाट हतियार बरामद गरेको छ । सो क्रममा बाजुराबाट एक जना पक्राउ परेका छन् । बाजुरा, त्रिवेणी नगरपालिका–७ कोकोट्ट्यारीबाट भरुवा बन्दुक एक थान, बारुद करिब ४० ग्राम र गोली बनाउन प्रयोग गरिने फलामका टुक्रा १० वटासहित सोही ठाउँ बस्ने ४५ वर्षीय नयाँ लुहारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बडिमालिकाबाट खटिएको प्रहरीले लुहारलाई घरभित्र लुकाइराखेका उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बागलुङ, ढोरपाटन नगरपालिका–४ लुकुरबन बस्ने ५० वर्षीय खिमे भनिने गोरे सुनारको घरबाट भरुवा बन्दुक एक नाल प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार गोरे सुनारलाई प्रहरीले खोजी गरिरहेको छ ।