वीरगंज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उमेदवार रहबर अन्सारी अहिले चुनावी प्रचारमा व्यस्त छन् । मधेस प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उमेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक पाँच दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर हुँदै प्रदेशसभा सदस्यमासमेत पराजित भएका अन्सारीलाई गठबन्धनले उमेदवार बनाएर सहज बनाइदिएको छ ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा उनले ८ हजार ३०५ मत प्राप्त गरेका थिए भने प्रदेशसभा सदस्यमा ६ हजार ७९४ मत प्राप्त गरेका थिए । ८ हजार ५९३ मत पाएर तत्कालीन संघीय समाजवादी फोरम नेपालका जन्नत अंसारी निर्वाचित भएका थिए । यसपटक टिकट नपाएपछि जन्नत अन्सारीले बागी उमेदवारी दिएका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका जन्नतको बागी उमेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई चाखपूर्ण बनाइदिएको छ । उनीसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट संविधानसभा सदस्य विचारी प्रसाद यादव पनि प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा यादव पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । यादवले ५ हजार ४८१ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउँदा सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका अनील कुमार रुंगटा १६ हजार ४८१ मत पाएर दोस्रो स्थानमा थिए । नेविसंघ, तरुण दल हुँदै १८ वर्षसम्म नेपाली कांग्रेसमा रहेर राजनीति गरेका सुधीर पटेलले टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । युवा मतदाताको मत रहबर र सुधीरमा विभाजित हुने अवस्था देखिन्छ । मुस्लिम समुदायको मत रहबर र जन्नतमा विभाजित हुनेछ । तसर्थ पर्साको क्षेत्र नम्बर १ (क) मा यसपटक रहबर, विचारी, जन्नत र सुधीरबीचको भिडन्त हेर्न लायक हुनेछ । यी चारजनासँगै यही क्षेत्रबाट १८ जनाले उमेदवारी दिएका छन् ।