वीरगंज । सरकारले बुधबारदेखि बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाउन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार बुधबार र बिहीबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाइन्छ।
‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। महिला स्वास्थ्य स्वयम्सेविकाहरूले ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाइरहेका छन्।
ललितपुर पाटनमा सो क्याप्सुल खुवाइरहेकी महिला स्वास्थ्य स्वयमसेविका दिलशोभा महर्जनले बिहीबारसम्म यो कार्यक्रम रहेकाले आफ्ना बालबालिकालाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गरिन्। सरकारले हरेक वर्ष बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने गर्दै आएको छ।