वीरगंज । गत मङ्गलबार राति करिब दुई बजे खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल घरको चाबी तोडेर चोरी हुन लागेको पसल धनीले थाहा पाए । चोरीमा संलग्नहरूले बाहिरी ढोकाको चाबी फुटाएर भित्रि पसलको चाबी फुटाउँदै थिए । त्यही क्रममा श्रेष्ठका २८ वर्षीय छोरा सन्दिप श्रेष्ठले थाहा पाएर होहल्ला गर्न थाले । चोरी भएको हल्ला भएपछि चाबी फुटाउँदै गरेकाहरूले श्रेष्ठलाई आक्रमण गरी निर्घात कुटपिट गरे । गुहार दिन आएका श्रेष्ठको आमा र दिदीलाई पनि आक्रमण गरी घाइते बनाए ।
श्रेष्ठ परिवारको होहल्लापछि छिमेकी भेला हुन थालेपछि चोरीको प्रयास गर्दै गरेका तीन जना भागे । स्थानीयले पछ्याउने क्रममा एउटा मोबाइल सेट भेटे र प्रहरीलाई बुझाए । उक्त मोबाइल सेटको माध्यमबाट चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चोरीमा संलग्न सिलिचोङ गाउँपालिका–१ का ४२ वर्षीय नन्दुराज राई, सोही गाउँका ३४ वर्षीय जगत राई र सिलिचोङ–३ का २३ वर्षीय अङ्कित राईलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारका अनुसार उक्त मोबाइल धनी (नन्दुराज) पत्ता लगाएर अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानकै क्रममा चोरीमा संलग्न अर्को सदस्यले म्यासेज गरेको थियो । उक्त मेसेजलाई आधार बनाएर अनुसन्धान गर्दा दोस्रो व्यक्ति (जगत) पनि पक्राउ गरिएको गोदारले जानकारी दिए ।दुवै जना चोरीमा संलग्न भएको पुष्टि भएसँगै तेस्रो व्यक्ति (अङ्कित) लाई पनि पक्राउ गर्न सहज भएको उहाँले जानकारी दिए । चोरीमा संलग्नहरूले पसलमा रहेको नगद चोर्ने उद्देश्य राखेको खुल्न आएको प्रनाउ गोदारले जानकारी दिए ।“पसलमा चोरी गर्न एक महिनादेखि रेकी गरेको देखिन्छ,” गोदारले भने, “सामान किन्ने निहुँ पारेर त्यहाँ भएको कारोबार, सीसी टीभीको अवस्थालगायतको रेकी गरिएको देखिएको छ ।”नकाव लगाएर चोर्न आएकाहरूले सीसी टीभी कपडाले छोपेर पसलको चाबी फुटाएको प्रनाउ गोदारले जानकारी दिए ।