विराटनगर । विराटनगर महानगर क्षेत्रमा दैनिक रूपमा डेंगीका बिरामीको संख्या बढ्न थालेपनि महानगर कार्यालय भने नियन्त्रण प्रयासमा अग्रसर हुनुको साटो अभिमुखीकरण र छलफलमै व्यस्त छ ।रोग नियन्त्रण र रोकथामको अभियानलाई तीव्रता दिनुको साटो महानगर छलफलमै केन्द्रित भएको देखिएको छ । औषधि छर्किएर लामखुट्टे नियन्त्रण गर्ने, लार्भा नष्ट गर्ने र उपचारको उचित प्रबन्ध गर्ने कार्य सुरु हुन सकेको छैन ।
महानगर पदाधिकारी आइतबार स्वास्थ्य महाशाखाका कर्मचारी र स्वास्थ्यकर्मीसँग छलफल गर्न व्यस्त थिए । सोमबार पनि वडाहरूमा त्यस्तै प्रकृतिको कार्यक्रम गरिएको महानगरले जनाएको छ । समुदायस्तरमै डेंगीबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र त्यसमा सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, समाजसेवी, नागरिक समाजका अगुवा, वडास्तरमा रहेका स्वास्थ्य च्यौकीमा कार्यरत स्वास्थ्यकर्मी सहभागी भएको जनाइएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले कार्यक्रममा डेंगी नियन्त्रण गर्न समुदायको भूमिका, डेंगीको लक्षण, रोकथामका उपायलगायत विषयमा सहभागीलाई जानकारी गराइएको बताएका छन् । उनले भने, “संक्रमण अझै बढ्ने सम्भावना देखिएको छ । टायर, जार, नालीमा डेंगी सार्ने लामखुट्टे धेरै बस्ने भएकोले सरसफाइमा ध्यान दिन भनेका छौँ ।”घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायत विधि अपनाउन आग्रह गरिएको अलीले बताए । विराटनगरमा समुदायस्तरमा डेंगी देखिन सुरु भइसकेको छ । कोसी, विराट, नोबेललगायत अस्पतालहरूमा दैनिक रूपमा भर्ना हुन जाने डेंगीका बिरामी बढेका छन् ।