वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले कांग्रेसभित्र भिडेर बस्ने समय नभएको भन्दै सबै नेता र कार्यकर्ता डटेर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लाग्न आग्रह गरेका छन् । उनले यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाले यसो गरे उसो गरे भनेर विरोधमा लाग्ने समय नभएको बताएका छन् ।मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुराना रिस र द्वोष भुलेर निर्वाचनमा एकत्रित हुन आग्रह गर्दै अहिलेका लागि कांग्रेसमा सबै विषय मिलिसकेको बताए ।
उनले आफु र सभापतिकाबीचमा पनि मेलमिलाप भइसकेकाले कार्यकर्ता तहमा झगडा गर्न आवश्यक नरहेको बताए ।वरिष्ठ नेता कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेकाले कार्यकर्तालाई विवाद नगर्न आग्रह गरे । उनले भने, ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस् । त्यो तुष मैले पनि त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ?।’१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको भन्दै उनले भने,‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’कोइरालाले प्रतिस्पर्धा तलदेखि देउवासँग आफुले गरेको र अहिले त्यो लडाइँ समाप्त भइसकेकाले अब सबै कांग्रेसीहरु एक भएर चुनावमा होमिनुपर्ने बताए ।
अहिलेको अवस्थामा आपसी झगडाले कांग्रेसलाई फाइदा नहुने उनको भनाइछ । उनले सबैलाई पुराना कुरा विर्सनुपर्नेमा जोड दिए । कोइरालाले भने, ‘ अहिले शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु । उहाँले मेरा कुरा पनि सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । के भयो के भएन त्यो कुरा पछि गरौँला । हामी मिलेपछि तपाईंहरु तल लडिरहनु हुँदैन । अब मिलेर जानुपर्छ ।’तल्लो तहमा कार्यकर्ताबीच अझै पनि भइरहेको आन्तरिक झगडालाई आाफुले किने हो भनेर बुझरन नसकेको उनले बताए । उनलेभने,‘ मैले बुझिरहेको छैन, केको लागि हो तपाइहरु लडिरहनुभएको छ । यो लडाइको फाइदा अरुले उठाइरहेका छन् । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त हुँदैन । नलडौ, मिलेर जाउँ । तपाइहरु मिल्नुभयो भने त्यसको असर केन्द्रमा पनि पर्छ ।’