काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको देशको प्रमुख एजेन्डा विकास निर्माण र समृद्धि हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उमेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै प्रचण्डले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने बताए ।
“विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेन्डा हुनेछ । हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ,” उनले भने । उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उमेदवारहरूदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूलाई आग्रह गरे । “म काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरूलाई के भन्छु भने अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो । त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ ।
त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ,” प्रचण्डले भने । एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने बताए । उनले एमाले अध्यक्ष ओली जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए । उनले काठमाडौं २ बाट ओनसरी घर्तीलाई जिताउन पनि आग्रह गरे । “उहाँ (ओनसरी घर्ती)लाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाउनेछौँ,” प्रचण्डले भने ।