वीरगंज । नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीबाट निस्कासित गरेको छ। महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै निस्कासनको जानकारी गराएका हुन्। साहलाई पार्टी विरोधी गतिविधिमा संलग्न रहेकाले पार्टीको सदस्यता समेतबाट निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ। साह एमालेको मधेस प्रदेश सह- इन्चार्ज थिए।
साहसँगै जिल्ला इन्चार्ज उपेन्द्र साह र सह- इन्चार्ज कुन्दप्रसाद कुशवाह पनि निस्कासनमा परेका छन्। साहले एमालेको टिकट होल्ड गराएर आफू र आफू निकटका केही नेताहरुको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। जसका कारण एमालेको उम्मेदवारी दर्ता हुन पाएको थिएन। साहले जसपासँग एमालेको तालमेलको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
तालमेलबाट जसपाले पाएको स्थानमा साहले आफूनिकट नेताहरुको उम्मेदवारी दर्ता गराएका हुन्। माओवादी पृष्ठभूमिका साह नेकपा विभाजनपछि एमालेमै बसेका थिए। एमालेले रौतहटका सहइन्चार्ज उद्धव रेग्मीलाई जिल्लाको इन्चार्जको जिम्मेवारी तोकिएको छ।