वीरगंज । नेकपा एमालेका नेता भीम रावलले पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न नदिएको आरोप लगाएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्यायपूर्ण काम गरेको बताए ।
‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ’, रावलले भने, ‘मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो । एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्रपूर्वक रोक्ने काम भयो ।’उनले आफूलाई हराउन नसकिने भएपछि टिकट नै नदिइएको पनि आरोप लगाए ।
‘मलाई हराउन नसक्ने भएपछि टिकट नै दिइएन । जुन कुरा जनता र कार्यकर्तालाई मन परेको छैन’, रावलले भने । पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलले बताए । आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिएर सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको रावलले बताए ।