वीरगंज । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका एकजना नेताले श्रीमतीलाई समानुपातिक सूचीमा राखेर छोरीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठाएका छन्। माओवादीबाट श्रीमतीलाई मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाएका नेता शिवपुजन राय यादवले सर्लाही-४ मा सत्ता गठबन्धनको सहमतिविपरित छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका हुन्। माओवादीले नेता यादवकी श्रीमती मीनालाई मधेसी महिला क्लस्टरको पहिलो नम्बरमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
तर, नेता यादवले अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले दिएको आश्वासनअनुसार सर्लाही–४ मा बाँडफाँट नभएपछि छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको प्रतिक्रिया दिएका छन्। ‘अध्यक्ष कमरेडले सर्लाही–४ प्रतिनिधिसभा कांग्रेसले पाए दुवै प्रदेशसभा माओवादीले पाउँछ, प्रतिनिधिसभा हामीले पाए दुवै प्रदेश कांग्रेसले पाउँछ भन्नुभएको थियो,’ श्रीमतीलाई पार्टीले प्राथमिकतामा राखेर उम्मेदवार बनाउँदा बनाउँदै छोरीलाई किन स्वतन्त्र उम्मेदवार उठाउनुभयो भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘त्यो पूरा भएन। हामीले पाएनौँ। त्यसलै छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएँ।
’सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा नेपाली कांग्रेसका नेता नागेन्द्रकुमार राय प्रतिनिधिसभातर्फ तथा ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ। प्रतिनिधिसभा कांग्रेसको भागमा परेपछि दुवै प्रदेशसभा माओवादीले पाउनु पर्नेमा एकमात्र प्रदेश दिएका कारण आफूले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको यादवको जिकिर छ।