वीरगंज । नेकपा एमालेका नेता भीमबहादुर रावलले अध्यक्ष केपी ओलीलाई पार्टीभित्र ‘संदिग्ध’ व्यक्तिलाई कसले संरक्षण गरेको भनी प्रश्न गरेका छन् । एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहलगायतलाई लक्षित गर्दै ओलीले उनीहरूलाई संदिग्ध र हरियो सर्प भनेपछि रावलले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले प्रभु शाहले स्वतन्त्र उम्मेदवारी दिएको विषयमा एक टेलिभिजन अन्तर्वार्तामा संदिग्ध गतिविधि गरेको टिप्पणी गरेका थिए । उनले प्रभु शाहको गतिविधिलाई ‘हरियो सर्प’को संज्ञा दिएका थिए ।
ओलीको भनाइप्रति टिप्पणी गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
रावलले पनि यसपटककाे निर्वाचनमा उम्मेदवारीका लागि टिकट पाएका छैनन् । अछामबाट लगातार चुनाव जित्दै आएका रावललाई स्थानीय कमिटीले सर्वसम्मत एकल नाम सिफारिस गरे पनि टिकट भने दिइएन । टिकट नपाएपछि रावल यसपटककाे निर्वाचनमा चुनावी प्रतिष्पर्धाकाे डाैडबाट केही टाढा छन् ।