वीरगंज । संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन् । जसपा एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतबार दिउँसाे वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनाेनयन दर्ता गरेका हुन् ।
जसपाकाे केन्द्रीय राजनीतिक समिति सदस्य समेत रहेका यादव , २०७४ काे निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। आइतबार मनाेनयन दर्ता पछि सन्चारकर्मीसंग कुरा गर्दै यादवले पर्साका चार वटै प्रतिनिधिसभा र आठ वटै प्रतिनिधी सभा क्षेत्रमा जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुकाे जित सुनिश्चित रहेकाे दाबी गरे ।
उनले यसै पनि पर्सा जिल्लामा जसपा बलियाे अवस्थामा रहेकाे र त्यसमा एमालेसंग गठबन्धन गरिएकाले आलफुहरुकाे जित कसैले राेक्न नसक्ने बताए । यादवले पर्सा १ मा आफू पुन प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले निर्वाचित हुने ठाेकुवा गरे । २०७४ मा सांसदमा निर्वाचित भए यता आफू हरेक हप्ता क्षेत्रमा जनतामाझ गइरहेकाे र जनताकाे सुखदुखमा सदैव साथ दिइरहेकाले यसपालि पनि पर्सा १ मा जितेर नयाँ ईतिहास रच्ने जिकिर गरे ।