वीरगंज । आसन्न निर्वाचनको लागि पर्साको चार वटै निर्वाचन क्षेत्र हेर्ने गरी तीन ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्सा निर्वाचन क्षेत्र नं. १ र २ को लागि राधेमाई जिल्ला समन्वय समितिको कार्यालयसँगै गरेको पूर्वधार विकास कार्यालयमा बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी क्षेत्र नं. ३ को लागि पोखरिया नगरपालिका स्थित बिद्युत कार्यालयमा र क्षेत्र नं. को लागि धोबिनी गाउँपालिकाको लंगडीमा रहेको पुस्तकालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रंजिता झाले बताइन् ।
झाका अनुसार पर्साको मुख्य निर्वाचन अधिकृत बिनोद कुमार पोखरेलले क्षेत्र नं. १ को निर्वाचन अधिकृतको समेत जिम्मेवारी लिनु भएको छ । निर्वाचन आयोगको कार्यातालिका अनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागिपरेका छन् । निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ बजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखि ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ ।
२५ असोजमा उजुरीका विरुद्ध छानबिन तथा निर्णय गरी नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समय सीमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछि सोही दिन १ बजेदेखि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारहरू ४ मंसिरको तयारीमा जुटने छन् । साभाल : नेपाल पोस्ट डेली