वीरगंज । यतिबेला सिंगो देश नै दसैँमय छ । तर, केही नेपाली भने विदेश जान बाध्य छन् । आज (बुधवार) सम्पूर्ण हिन्दू नेपाली विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिस टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । आज बिहान दसैँको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो ।
अधिकांश नेपाली दसैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । तीमध्ये अधिकांश युवा छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको दिनमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् ।
उनीहरू अहिले दसैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर विदेशिन लागेको बताउँछन् । दसैँको बेलामा सयौँ युवा रोजगारीका लागि विदेसिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाको मन भारी छ । यद्यपि, हातमुख जोर्ने बाध्यताले चाडपर्व मनाउने सुविधा भने दिएको छैन ।