पोखरा । पोखराका चिजमान गुरुङले फेवातालमा डुंगा चलाउन थालेको २३ वर्ष भयो । ६२ वर्ष पुगेका उनले जीन्दगीको आधा उमेर त फेवाको पानीसँगै बिताएका छन् । बहाना खियाउन थालेको यतिका वर्ष भयो तर गएको २ वर्ष उनलाई ठूलो संकट पर्यो । कोरोना कालमा न उनले डुंगा चलाउन पाए, न चाडपर्व नै राम्रोसँग मनाएन भ्याए । गएको २ वर्ष निकै कष्टमा बितेको उनी सम्झन्छन् । ‘यतिका वर्ष भयो डुंगा चलाउन थालेको कोरोनाको बेलामा जस्तो दुख त कहिल्यै भोगिएन्,’ उनले भने, ‘अरु बेलाभन्दा चाडबाड आउँदा साह्रै मन दुख्ने ।’ हुन त उनले कोरोनाभन्दा अघि भूकम्पको समयमा पनि डुंगामा चढ्ने यात्री भेटेका थिएनन् । तर, त्यो बेला केही दिनपछि चहलपहल बढिहाल्यो । दुई वटा दसैँ ऋण खोजेरै मनाएका गुरुङले यसपालाको दसैँ आफ्नै कमाईले मनाउने भन्दै कस्सिएका छन् । वर्षायाम सकिएसँगै कोरानापछि उनी पहिलेभन्दा अलि व्यस्त हुन थालेका छन् । जसले गर्दा उनमा केही आशा पलाएको छ । ‘दुई वर्ष यता उता मागेरै दसैँ तिहार धाने,’ उनले भने, ‘यो वर्ष त पहिला पहिलाको जस्तो नभए पनि केही भएपनि पाहुनाहरू आउनुभएको छ, अलि अलि त कमाइएला नि ।’ आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै उनी चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।
कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकहरूको संख्या बढेपछि आफूसँगै अरु डुंगा चालकहरू पनि व्यस्त हुन थालेको डुंगा चालक गुरुङले बताए । पोखरा आएका पाहुनाहरू एकपटक फेवाताल पुगेर डुंगा सयर गर्ने उनको भनाइ थियो । यसरी फेवातालमा डुंगा चढ्नुहुने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए । ‘कोरोना घटेपछि पाहुनाहरू आएर डुंगा चढ्नुहुन्छ अलि अलि भएनि कमाइएको छ,’ उनले भने । पहिले दैनिक पन्ध्र सयसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक आठ सय सम्म कमाउँछन् । पानी पर्न छाडेपछि फेवातालमा डुंगा सयर गर्ने र तालबाराही दर्शन गर्नेको संख्या बढेको फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । जसले गर्दा डुंगा व्यावसायी र चालक खुसी भएका उनको भनाई छ । अहिले फेवतालमा डुंगा सञ्चालन हुने फेवातालका ८ वटा घाटमा यात्रीहरूको पुगेका छन् । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा कोरोनाकालको तुलनामा यात्रु पुग्ने गरेको अध्यक्ष गिरीले सुनाए । सबै घाटमा चल्ने डुंगाको संख्या सात सय २६ वटा छ ।
ती डुंगा चलाउने २५ जना महिला छन्, भने बाँकी सबै पुरुष हुन् । महिलाहरूले चलाउन सक्दैन भनेर चढ्न नमान्ने गरेकाले उनीहरूले पनि सुरक्षित रुपमा डुंगा खियाउन सक्ने उनको भनाई थियो । ‘हामी कहाँ सात सय २६ डुंगा छन् त्यसमा धेरै पुरुष चालक छन्, महिलाको संख्या कम छ,’ उनले भने, ‘महिलाले चलाउन सक्दैनन् भनेर पनि चढ्न खोज्दैनन् तर त्यसो होईन डुंगा चलाउन महिला पुरुष बराबर छन् ।’ पर्यटकहरूको संख्या बढेसँगै चालक तथा व्यावसायीहरूको यो पटकको दसैँ केही भएपनि सहज हुने गिरीको भनाइ छ । ‘लगभग सबै घाटमा चालकहरू व्यस्त नै छन्,’ उनले भने, ‘यो पटक उनीहरूलाई ऋण खोजेर दसैँ मनाउन नपर्ला की ।’बाराहीघाट देखि बाराही मन्दिरसम्म पुगेर फर्केको ६० रुपैयाँ भाडा हो तर, यहाँ चालकहरूले मनोमानी रुपले पैसा लियो भन्ने यात्रुहरूबाट गुनासो आउँछ । जसका फेवा डुंगा व्यावसायी संगठनले अनुगमन समिति पनि बनाएको छ । समितिले निरिक्षण गर्न थालेपछि पर्यटकहरूको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए ।