वीरगंज | दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र शहरबाट गाउँ फर्किनेको घुइँचो छ ।पारिवारिक पुनर्मिनलको विशेष महत्त्व राख्ने दशैं मनाउन नेपालीहरू सकेसम्म मूल थलोमै जुट्ने गर्छन् । वर्षौंदेखि भेट नभएकाहरू पनि भेट्ने र बातचित गर्ने अवसर दशैं नै हो । तर, यसपालि राजनीतिक नेतृत्वका लागि भने दशैंभन्दा ठूलो पर्वकोरूपमा चुनाव लागेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चटारोले राजनीतिक नेतृत्वलाई लपेटेको छ ।
अझ, निर्वाचन आयोगले दशैँ नसकिँदै उम्मेदवारी दर्ताको दिन तोकिदिएका कारण दशैं मनाउनमा भन्दा बढी उम्मेदवार चयनमा राजनीतिक नेतृत्व व्यस्त हुनुपर्ने भएको छ । चुनावमा उम्मेदवार बन्न चाहने नेताका लागि दशैं रौनक कम, चुनावी चिन्ता बढी छ । निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको कार्यक्रम राखेको छ । त्यसो हुँदा मुख्य दशैंमा राजनीतिक नेतृत्वलाई भने चुनावी रस्साकस्सीमै बढी व्यस्त हुनुपर्ने अवस्था आइपरेको छ ।
कतिपय राजनीतिक दलमा टिकट कन्फर्म जस्तै भएका नेताहरूले भने दशैंलाई चुनावी प्रचारको माहोलकोरूपमा पनि उपयोग गरिरहेका छन् । निर्वाचन क्षेत्रबाट उम्मेदवारकोरूपमा एकल सिफारिश भएका नेताहरू भने दशैँलाई चुनावी प्रचारकोरूपमा उपयोग गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवासमै दशैं मनाइरहेका छन् । उनी यो दशैंमा आगामी चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवार छनौटमा बढी व्यस्त छन् । ‘यसपालिको दशैँ चुनावमय छ । दशैं मनाउँदै उम्मेदवार चयनको काममा पनि लाग्नुपर्ने छ । अतिव्यस्तताको बीच प्रधानमन्त्रीज्यूले दशैं मनाउनुहुनेछ’, प्रधानमन्त्रीको सचिवालयका सदस्यले भने ।
यसै वर्ष प्रधानमन्त्रीका भाइको निधन भएको हुँदा दशैँको टीकाको कार्यक्रम नहुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि भक्तपुर बालकोटस्थित निवासमै दशैं मनाउने तयारीमा छन् । उनलाई पनि दशैंमा चुनावी चटारो छ । नेकपा एमालेले उम्मेदवार चयनको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।
सत्तारूढ पाँचदलीय गठबन्धनको घेराबन्दीका बीच एमालेले चुनाव लड्नुपर्ने भएकाले यसपटक ओलीले सुविचारित ढंगले चुनावी अभियान हाँक्नुपर्ने छ । एमालेसँगको तालमेलमा चुनाव लड्न चाहने अन्य दलहरूसँगको छलफल र सीट बाँडफाँटको काम पनि दशैंकै बीचमा ओलीले टुंगो लगाउने उनको सचिवालयले बताएको छ ।
‘यसपालि दशैंको रौनक त छ नै, त्यससँगै राजनीतिक व्यस्तता पनि उत्तिकै छ । राजनीतिक भेटघाट, छलफल, बैठक र उम्मेदवार चयनको काम दशैंमा बढी प्राथमिकतामा छ’, ओलीको सचिवालयका सदस्यले भने । त्यसैगरी, सत्तारूढ गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डले पनि दशैमा खुमलटारस्थित निवास छाड्ने पाउने अवस्था छैन ।
सत्तारूढ गठबन्धनमा निर्वाचन क्षेत्र र सिट बाँडफाँटको विषय अझै टुंगो लागिसकेको छैन । मोटामोटीरूपमा सीट बाँडफाँट गरेका नेताहरू दशैंकै बीचमा बैठक बसेर त्यसलाई टुंगोमा पुर्याउने कसरतमा जुटिरहेका छन् । ‘यसपालिको दशैंमा राजनीतिक काममै बढी व्यस्त हुनुपरेको छ । राजनीतिक भेटघाट र उम्मेदवार चयन लगायतको चुनावी काममा धेरै व्यस्त हुनुपर्ने छ । चुनावी तयारीको व्यवस्तताकै बीच दशैं बित्ने देखिन्छ’, प्रचण्डका सचिवालयका एक सदस्यले बताए ।
सत्तारूढ गठबन्धनमा रहेका अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको अवस्था पनि अन्य शीर्ष नेताहरूको जस्तै छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक र छलफलमा सहभागी हुने, पार्टीका नेताहरूसँग परामर्श गर्ने र पार्टीको उम्मेदवार चयन गर्ने काममा व्यस्त हुँदै दशैं मनाइरहेको नेपालको सचिवालयले बताएको छ । राजनीतिक दलका शीर्ष नेताले झैँ दोस्रो तहका धेरैजसो नेताले यसपालिको दशैंमा काठमाडौं छाड्न पाएका छैनन् । उम्मेदवार चयनको काम दशैंकै बीचमा हुने भएकाले उम्मेदवार छनौटको बैठक र छलफलमा सहभागी हुनुपर्ने भएकाले काठमाडौंमै रहेर दशैं मनाउनुपर्ने बाध्यता उनीहरूलाई छ ।काठमाडौं छाडेर बैठक र छलफल छुटाउँदा आफ्नो निकटका व्यक्तिलाई उम्मेदवार बनाउनबाट चुक्न सक्ने डरले पनि धेरैजसो नेताहरू काठमाडौंमै छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल काठमाडौंमै रहेर दशैं मनाउँदै छन् । उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीकाअनुसार, पौडेलले काठमाडौंको बोहोराटारस्थित निवासमा राजनीतिक भेटघाटसँगै दशैं मनाइरहेका छन् ।दशैंलगत्तै असोज २३ मा उम्मेदवारी मनोनयनका लागि तनहुँ जाने र त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमै चुनावी अभियानमा व्यस्त हुने पौडेलको तयारी छ । कांग्रेसमा संस्थापन इतर खेमाको नेतृत्व गरिरहेको शेखर कोइरालाले पनि दशैंमा काठमाडौं नछाड्ने भएका छन् । कांग्रेसभित्र बढिरहेको टिकट वितरणको किचलोले गर्दा पनि उनी काठमाडौंमै रहेका हुन् । संस्थापन पक्षले पार्टीको अर्को पक्षलाई प्रत्यक्षतर्फको टिकटमा पेल्न सक्ने भयका कारण उनी काठमाडौंमै रहेर आफ्नो पक्षका धेरैलाई टिकट दिलाउने प्रयासमा लाग्नेछन् । भलै, उनी पार्टीमा केन्द्रीय सदस्यको भूमिकामा मात्रै छन् । उनले आफ्नो पक्षमा रहेका पदाधिकारी र कार्यसम्पादन समितिका रहेका नेताहरूमार्फत पार्टी सभापतिमाथि दबाब सिर्जना गर्नेछन् ।
यसअघि काठमाडौंबाहिर रहेका कतिपय नेताहरू दशैंमा काठमाडौं फर्किएका छन् । चुनावी टिकट वितरणको मूल ठाउँमा आफ्नो उपस्थिति देखाउनकै लािग पनि उनीहरूले काठमाडौंमै रहेर दशैं मनाउन लागेका हुन् । आफ्नो पार्टीमा टिकट पक्कापक्की जस्तै भएका नेताहरू भने आफ्नो परिवार र मतदाताको माझमा रहेर दशैं मनाउने तयारीमा छन् । एमालेका ५६ जना नेताहरू निर्वाचन क्षेत्रबाट उम्मेदवारकोरूपमा एकल सिफारिश भएका छन् । उनीहरूमध्ये धेरैजना अहिल्यैबाट आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा सहभागी हुन थालिसकेका छन् । दशैंलाई पनि चुनावी प्रचार अभियानकैरूपमा मनाउने उनीहरूको तयारी छ ।
‘दशैंमा धेरैजसो समय सिन्धुपाल्चोकमै रहन्छु । थोरै समय मात्रै काठमाडौंमा रहन्छु । यसपालिको दशैं चुनावी माहोलका बीच जनताको घरदैलोमा रहेर मनाउने योजनामा छु’, तामाङले भने । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभाको उम्मेदवार हुने योजनामा उनी छन् । पार्टीमा उनको टिकट लगभग पक्का जस्तै रहेको एमाले नेताहरू बताउँछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा भने केही समय काठमाडौंमा रहेर विजयादशमीको दिन भने ओखलढुङ्गा पुग्ने योजनामा छन् । ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने योजनामा रहेका उनी टिकटका बारेमा हुने बैठक र छलफलमा सहभागी हुन काठमाडौंमा रहने र विजयादशमीको दिन ओखलढुङ्गा पुग्ने उनले बताए ।
‘टिकटका बारेमा हुने छलफलका लागि पनि नेताहरूले काठमाडौंमै बस्न भनेका छन् । म हरेक समय गाउँमा पुगिरहेको हुन्छ । दशैंमा पनि गाउँ पुग्ने नै योजना छ’, उनले भने । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले यसपटक गुल्मीमा रहेर दशैं मनाउने भएकी छिन् । चुनावी तयारीमा रहेकी उनले गुल्मीमै चुनावी कार्यक्रम शुरू गरिसकेकी छिन् । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्ने तयारीमा रहेकी रामकुमारीले यसपालिको दशैं गाउँमै मनाइरहेको बताइन् ।
‘म सधैं गाउँमै रमाउने, गाउँमै खुशी हुने मान्छे हो । गाउँमा दशैं मनाउन पाउँदा झन् खुशी नहुने कुरै भएन । यसपालि चुनावी माहौल पनि भएकाले गाउँको दशैंमा झन् रौनक थपिएको छ । गुल्मीमै रहेर दशैं मनाउने योजनामा छु’, उनले भनिन् । एमालेका केन्द्रीय सदस्य मानवीर राई दशैं मनाउनका लागि सोलुखुम्बु फर्किएका छन् । सोलुखुम्बुबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि एमालेले उनको एकल नाम सिफारिश गरेको छ । निर्वाचनमा टिकट पाउनेमा ढुक्क रहेका उनी परिवार र मतदाताको माझमा दशैं मनाउने भनेर सोलुखुम्बु फर्किएका हुन् । ‘परिवार र जनतासँग दशैं मनाउने कार्यक्रम छ । दशैंलगत्तै चुनावी अभियानमा खटिनुपर्ने भएकाले पनि सोलुखुम्बुमै रहेर दशैं मनाउने योजनामा छु’, राईले भने ।