वीरगंज । यो वर्षको दशैं सुरु भईसकेको छ । यो वर्षको दशैंको लागि नयाँ एक नेपाली फिल्म बाबरी शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । दशैंकै अबसर पारेर शुक्रबारबाटै दुई बलिउड फिल्म ‘विक्रम वेधा’ र ‘पोन्निन सेल्वान’ (पिएस वान) पनि रिलिज हुँदैछन् । गत साता रिलिज भएको चलचित्र प्रेमगीत ३ को हिन्दी भर्सन पनि सोमबारबाट रिलिज भएको छ । तर प्रेमगीत ३ को हिन्दी भर्सनलाई दर्शकले त्यति धेरै महत्व नदिएपछि शुक्रबारबाट रिलिज हुने चलचित्र बाबरीलाई फाईदा पुग्ने भएको छ ।
बिगतका वर्षहरुमा दशैंमा दुई वटासम्म नेपाली चलचित्र रिलिज हुने गरेका थिए । तर यसपटक बाबरीले मात्र रिलिज हुने अबसर पाएको छ । नेपाली चलचित्र नभए पनि बलिउडका दुई ठुला फिल्म ‘विक्रम वेधा’ र ‘पोन्निन सेल्वान’ (पिएस वान) चुनौती बनेर आएका छन् । दशैंको लागि भनेर चलचित्र परदेशी २ रिलिज गर्न लागिएको थियो । तर दुई ठुला हिन्दी फिल्म यो मितिमा रिलिज हुने भएपछि चलचित्र परदेशी २ को रिलिज आगामी फागुनमा सारियो । परदेशी २ हटेपछि चलचित्र बाबरी १४ असोजबाट रिलिज भएको हो । यसरी शुक्रबारबाट सिनेमा घरमा आएको चलचित्र बाबरीले ठुला बजेटका दुई हिन्दी फिल्मसँग स्वदेशमा प्रतिस्पर्धा गर्दैछ । चलचित्र बाबरीको बिहिबार बेलुका काठमाडौंमा प्रिमियर गरियो । सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पायो । त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रको दृष्यले दर्शकलाई लोभ्यायो ।
गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको चलचित्र बाबरीमा धिरज मगर, धिरज नाडकर र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ । यो चलचित्रका अन्य कलाकारमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायत रहेका छन् । चलचित्र बाबरी मुलुकका ८० भन्दा बढी सिनेमा हलबाट रिलिज हुने निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । यस अघि अभिनेत्री अद्धिती र अभिनेता अनमोल केसीलाई लिएर चलचित्र कृ निर्देशन गरेका सुरेन्द्रले अदितीलाई लिएर अहली चलिचत्र बाबरी तयार गरेका हुन् । जसमा नरेन्द्र मैनालीको छायाँकन छ । सम्पादन भने सुरेन्द्र आफैंले गरेका हुन् । चलचित्रको गीत यतीबेला लोकप्रिय छ ।