वीरगंज । सत्ता गठबन्धनले सिट बाँडफाँटलाई दसैंअघि नै अन्तिम रूप दिने तयारी गरेका छन्। प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पाँच दलीय सत्ता गठबन्धन पुगेको छ। कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ लगभग कसले कति सिट लिने सहमति भएको छ। ‘प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुट्यो,’ कार्यदलका ती सदस्यले भने, ‘सहमति जुट्न बाँकी दुई/चार क्षेत्र पछि मिलाउने गरी आजदेखि प्रदेश सभा क्षेत्रमा सहमति खोज्छौं।’
प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे आइतबारदेखि बालुवाटारमा छलफल हुने भएको छ। ‘प्रदेश सभामा सहमति खोजेपछि प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र पनि मिलाउन सजिलो हुन्छ,’ ती सदस्यले भने, ‘दसैंअघि सिट बाँडफाँट टुंगिन्छ।’ प्रत्यक्षतर्फ उठ्न इच्छुक केही नेताहरू समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएकोले केही क्षेत्र स्वत: मिल्ने देखिएको थियो। गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा सुरूमा दाबी गरेका थिए।
सबै दल यो संख्याबाट घटेर सिट बाँडफाँट गर्नका लागि लचक भएका थिए। सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ लगभग सहमति भएको दाबी गरिए पनि कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने हुन् भन्ने कार्यदल सदस्यहरूले अहिले नै खुलाउन चाहेका छैनन्।‘आज कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल सदस्यबीच मात्रै छलफल गर्ने तयारी छ,’ ती नेताले भने, ‘प्रदेशहरूमा सहमति गरी त्यसको खाका शीर्ष नेताहरूलाई दिएपछि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति-कति सिटमा उम्मेदवारी दिने सार्वजनिक गरिन्छ।