वीरगंज । मधेश प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका,२०७७ लागू भएको छ । मधेश प्रदेशको यातायात व्यवस्था कार्यालय लाइसेन्स नारायणी र जनकपुरमा बुधवार अर्थात् असोज ५ गतेदेखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको यातायात व्यवस्था कार्यालय नारायणीका निमित्त प्रमुख कमल गौतमले बताए । मधेश प्रदेशमा लाइसेन्सको लिखित र ट्रायल परीक्षाका लागि निर्देशिका लागू भएसँगै सामान्य त्रुटिले पनि लाइसेन्सको लिखित तथा ट्रायल परीक्षामा फेल हुने अवस्थाको अन्त्य भएको गौतमले बताए ।
यसअघि, मधेश प्रदेशमा आवश्यक पूर्वाधार र जनशक्ति अभावलाई कारण देखाएर निर्देशिका लागू गरिएको थिएन । अब लाइसेन्सको लिखत र ट्रायल परीक्षालाई १०० अङ्क भार मानेर क्रमशः ६० र ७० अङ्क ल्याउने परीक्षार्थी पास हुने गौतमले बताए । निर्देशिका लागू हुनुअघि एउटा सामान्य त्रुटिमा पनि परीक्षार्थी फेल हुने अवस्था रहेको थियो जस्ले गर्दा परिक्षार्थीहरुले पटक पटक परीक्षा दिनुपर्ने बाध्यताका कारण हैरानी खेप्दै आएका थिए । नयाँ प्रावधान लागु भएसँगै अब यो समस्याले निकास पाउने गौतमले बताए ।
निर्देशिका कार्यान्वयन भइसकेका प्रदेशमा परीक्षा दिएकामध्ये ६६ प्रतिशतभन्दा बढी परीक्षार्थी पास हुने गरेकोमा पुरानै मापदण्डमा १२ प्रतिशतमात्र पास हुँदै आएको यातायात व्यवस्था विभागको तथ्याङ्क छ । बारम्बार परीक्षा दिनुपर्ने बाध्यताका कारण कार्यालयहरूमा सेवाग्राहीको भिड लाग्ने गरेको र व्यवस्थापनमा समेत समस्या भइरहेकोमा अब यो प्रावधानपछि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भिड समेत क्रमशः कम हुँदै जाने विश्वास गरिएको छ । साभाल : नेपाल पोस्ट डेली