वीरगंज । प्रहरीले लागूऔषधसहित वीरगन्जबाट २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ । बुधबार राति साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका १७ अलौबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगन्ज–११ का ३७ वर्षीय पारस महतो, भारत बिहार मोतीहारी पूर्वी चम्पारण थाना रक्सौलका १९ वर्षीय कृष्ण पासवान र १९ वर्षीय आशीष पासवान छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरु सवार भारतबाट नेपाल आउँदै गरेको बिआर ०५ एबि ५३१९ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा उनीहरुले बोकेको सेतो झोलामा डाईजेपाम २ सय ५० एम्पुल, नुर्फिन २ सय ५० एम्पुल, फेनारगन २ सय ५० एम्पुल गरी ७ सय ५० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।