वीरगंज । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर हालसम्म अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ जनाको बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।
एनडिएमएले प्रकाशन गरेको एक तथ्याङ्कमा यसबारे जानकारी दिइएको हो । पछिल्लो २४ घण्टामा बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ । बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मात्र थप ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ । यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएर आश्रय लिइरहेका छन् ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिल्गिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् । बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।