काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको कामको प्रशंसा भइरहेको छ । अहिले मेयर बालेन अनधिकृत संरचना हटाउने, बहाल कर नतिरेका विभिन्न निकायहरुलाई समयमा तिर्न आग्रह गर्ने लगायतका काममा व्यस्त छन् ।
यसैबीच काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाविरुद्ध बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने संघले जनाएको छ ।
महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो । फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको महासंघले आरोप लगाएको छ । महासंघले महानगरले निर्मम ढंगले लखेट्न खोजेको पनि आरोप लगाएको छ ।