जनकपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आउन लागेका छन् । सोमवार बिहान साढे दश बजे जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेशको यहाँ स्थित यात्री निवासको सभाकक्षमा सोमवारदेखि सुरु हुने प्रथम अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेको परिषदका धनुषा जिल्ला सचिव सुनिल कुमार झाले जानकरी दिए ।
बिहान अधिवेशनको उद्घाट्न पछि तिरहुतिया गाछीमा एमाले धनुषाले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा समेत अध्यक्ष ओलीको सहभागिता रहने सचिव झाले प्रष्ट पारे । परिषदका केन्द्रीय सचिव एवम् मधेश प्रदेश इन्चार्ज अर्जुन सिंहको संयोजकत्वमा हुन लागेको अधिवेशनमा प्रदेशको आठ वटा जिल्लाबाट २ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जुझारु, संघर्षशील युवा नेता सन्तोष यादव एमालेमा प्रवेश गर्ने चर्चा चुलिएको छ ।
उनको एमाले प्रवेशले क्षेत्र धनुषामा पार्टी झनै बलियो भएर अगाडि बढ्ने राजनीतिक विश्लेषकहरुको धारणा छ । करिब तीन सय भन्दा बढी बुद्धिजीवीहरुको सहभागितामा अधिवेशन सम्पन्न हुने धनुषा सचिव झाले जानकारी दिए । क्रमश:जिल्ला समिति हुँदै पालिका समितिहरुको गठन पछि प्रदेश अधिवेशन हुन लागेको उनले बताए । अधिवेशनबाट प्रदेश स्तरीय समितिको गठन गरिने जनाइएको छ भने अधिवेशन दुई दिन सम्म चल्नेछ ।