वीरगंज । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन् । आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतवार बिहान विशेष सम्बोधन गर्दै उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षालगायत अन्य सबै संवैधानिक जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।
विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नुपर्ने भन्दै उनले राष्ट्रिय हितको संरक्षण तथा प्रबद्र्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन पनि निर्देशन दिए । उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गरे । प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गरे । उनले राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको बताए ।
उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले विशेष भूमिका खेल्नुपर्ने बताए । प्रधानसेनापति शर्माले मतपत्र छपाइ सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षाजस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न समेत निर्देशन दिए । उनले राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए । सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए ।