दार्चुला । जिल्लामा अविरल वर्षासंगै आएको बाढी र पहिरोले जनधनको क्षति भएको छ । गएरातिको परेको वर्षाले महाकाली नदी र लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाम स्थित बाङ्गाबगर,लास्कु र डुङरीका दर्जनौं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा महाकाली नगरपालिका—३ डुङरीका ५२ वर्षीय धनसिंह कार्की, ४५वर्षीया श्रीमति मानमती कार्की,१८ वर्षीय छोरा दिपक कार्की, र १० वर्षीय छोरा दिनेश कार्की रहेका जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै जिल्लाको नौगाड गाउँपालिका — १ सल्लामा गएको बाढी र पहिरोमा परि सल्लाकी १५ वर्षीया धनुली ठगुन्ना र ३० वर्षीय जानकी ठगुन्नाको मृत्यु भएको छ ।
पाँच जना घाइते छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उद्धारका लागि हेलिकोप्टर मगाइएको छ । यस्तै नौगाड गाउँपालिका—२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि वेपत्ता रहेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । निमित्त प्रहरी प्रमुख गाहामगरका अनुसार सदरमुकाम नजिकको लास्कु खोला र महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गरेको छ । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका पाँच वटा जिपहरु बगाएको छ ।महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु-याएको छ । लास्कु खोलाको पुल बगेको छ ।
‘खोला पारि जान सकिने अवस्था छैन्,’ प्रहरी निरीक्षक गाहामगरले भने, ‘त्यहाँ के कति जनधनको क्षति भयो? त्यसको विवरणै संकलन गर्न सकिएको छैन् ।’राती करिब ११ बजेबाट परेको अविरल वर्षाले लास्कु खोलामा ठूलो बाढी आएको थियो । महाकाली र लास्कुको दोभान नजिक भारततर्फ पहिरो गएकाले नदी साँघुरिदा बढी क्षति भएको स्थानीयले बताएका छन् । प्रहरीले क्षतिको पूर्ण विवरण अझै संकलन गर्न नसकिएको र सबै जना उद्धारमा जुटेको जनाएको छ । बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा सेना प्रहरी, सशस्त्र र स्थानीयले उद्धार गरिरहेका छन् ।