वीरगंज । बीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यका साथ “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गरेको छ । कार्यक्रमको उद्घाटन बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका छन् । ल्याब सहितको गाडीलाई मेयर सिंहले ग्रिन सिग्नल दिएर कार्यक्रमको उद्घाटन गरेका छन् ।
बीरगन्ज महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष मनोज कुमार यादवकाे अध्यक्षतामा लालपर्सामा सम्पन्न भएको कार्यक्रममा मेयर सिंहले बिधिवत रुपमा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,प्रेमबाबु पटेल,युवा नेता ईश्वरचन्द्र यादव,उमेश सहनी,बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेल,शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण लगायतको उपस्थिती रहेको थियो । स्थानीय तहको निर्वाचनका बेलाको आफुले गरेको बाचा अनुसार “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरेको मेयर राजेशमान सिंहले बताए ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“मा मोबाईल स्वास्थ्य परिक्षण प्रयोगशाला र एम्बुलेन्स सहित चिकित्सक, मेडिकल अफिसर, नर्स र हेल्थ असिस्टेन्ट समेतको संयुक्त टोलीले वडा वडामा पुगेर नगरवासीलाइ आवश्यक स्वास्थ्य उपचार सेवा निशुल्क प्रदान गर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाइ निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी समेत वितरण उनले गरिने बताए स्वास्थ्य शिविरमा जेनरल परीक्षण , गर्भवती महिलाको परीक्षण , प्याथोलोजी ल्याब , गर्भवती महिलाको लागि भिडियो एक्सरे , ईसिजी सेवा तथा निस्शुल्क औंषधी समेत वितरण गरिने बीरगन्ज महानगरपालिकाले जनाएको छ । कार्यक्रममा एम.बि.बि.एस. डाक्टर समेत गरी २५ जना स्वास्थ्यकर्मीहरूको टिम रहेको बीरगन्ज महानगरपालिका मेयर सिंहले बताए ।