वीरगंज । नेपालबाट भारत निकासी हुने मुख्य उत्पादन प्रशोधित तेलको निकासी घटेपछि त्यसको प्रभाव कच्चा पदार्थको आयातमा पनि देखिएको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीना साउनमा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुुलनामा कच्चा सोयाबिन तेलको आयातमा ठूलो ह्रास देखिएको हो । भन्सार विभागका अनुसार यस अवधिमा कच्चा सोयाबिन तेलको आयात परिमाणमा ५१ प्रतिशत घटेको छ ।
मूल्यका आधारमा समीक्षा अवधिको तुलनामा यसको आयात करीब २८ प्रतिशतले घटेको छ । भारतले तेलको मूल्य नियन्त्रणका लागि तेलको आयातमा सीमा शुल्क घटनाएपछि नेपालबाट तेल निकासी करीब बन्दजस्तै छ । भारतमा उच्च दरको सीमा शुल्क भएको बेलामा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट कच्चा पादर्थ भित्र्याएर प्रशोधित तेल निकासी गर्दै आएका थिए । नेपालबाट शून्यदेखि ५ प्रतिशत सीमा शुल्कमा तेल निकासी हुने गरेकोमा अहिले यो सम्भव छैन ।