वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा सञ्चालित बिध्यासधन मा.वि.की साबना खातुनले आत्महत्याको प्रयास गरेकी छन् । वीरगञ्ज वडा नम्बर १४ बहुअरी बस्ने १५ वर्षीया साबना खातुनले बुधवार अपराह्न चार तलाबाट हाम फालेर आत्महत्या प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ ।
हाम फाल्दा उनी विद्यालय अगाडिको कम्पाउन्डमा खसेकी थिइन् । उनको बायाँ खुट्टा र दुवै हातमा गम्भीर चोट लागेको छ ।
हाल उनको वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
उनको शल्यक्रिया गर्ने चिकित्सकको तयारी छ । केही महीनाअघि खातुनकी आमाको निधन भएको र बुबाले अर्को बिहे गरेपछि उनी तनावमा थिइन् । उनी घर छाडेर अहिले बहुअरीस्थित मामाघरमा बसेकी थिइन् । आत्महत्या गर्नुको पछाडि मानसिक तनाव रहेको बुझिएको छ ।