वीरगंज । जीर्ण भवन र व्यवस्थापन लथालिङ्ग रहेको वीरगन्जस्थित नेसनल ट्रेडिङ लिमिटेडको भौतिक पूर्वाधार मर्मतसम्भारका लागि छुट्याइएको ५० लाख रुपैयाँ बजेट फ्रिज भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेसनल ट्रेडिङको भवन परिसरमा पानी जम्छ । भवनमा लेउ लाग्नुका साथै घाँस उम्रिएको छ । पुरानो भवन त्यसमाथि समय–समयमा मर्मतसम्भार नहुँदा भवन जीर्ण बनेको हो ।
शाखा प्रमुख विकास कटुवालले गतवर्ष केन्द्रबाट आएको बजेट व्यवस्थापन हुन नसकेको स्विकारे । बजेट आएलगत्तै गतवर्ष नै निर्माण सामग्रीको मूल्य ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएपछि टेन्डर प्रक्रिया अघि नबढेको उनले बताए । ‘साविकको नेसनल ट्रेडिङ कार्यालय रहेको मुख्य कार्यालय भवन र हाताभित्रको बाटो मर्मत गर्न बजेट आएको थियो,’ उनले भने, ‘तर निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि ५० लाखले ठेक्का लाग्ने अवस्था नदेखिएपछि टेन्डर प्रक्रियामै गएनौं ।’त्यसबेला कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पनि नहुँदा आफूहरूले केन्द्रसँग समन्वय र थप बजेटबारे ठोस निर्णय लिन नसकेको उनले सुनाए । ट्रेडिङ परिसरमा हाल १३ वटा गोदाम छन् । १३ मध्ये १२ वटा गोदाम कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीलाई भाडामा दिएको छ । एउटा गोदाम आफ्नै प्रयोजनका लागि राखेको छ । दर्जन गोदामको भाडाबाट मात्रै ट्रेडिङले वार्षिक ९२ लाख रुपैयाँ आम्दानी गरिरहेको छ । तर, कुनै समय गुल्जार रहेको ट्रेडिङ परिसर अहिले खण्डहरजस्तो देखिन्छ ।
हालै मात्र ट्रेडिङको मुख्य कार्यालय भवन मधेस विश्वविद्यालयलाई ५ वर्षका लागि भाडामा दिइएकाले उसले उक्त भवनको मर्मतसम्भार र रंगरोगन थालेको छ । अन्य भवन र गोदामको अवस्था भने उस्तै छ । वर्षायाममा गोदामसम्म पुग्ने मुख्य बाटोमै पानी जमेर पोखरी बन्छ । नाला पुरिएर पानीको निकास नहुँदा परिसरमा पानी जम्ने गरेको हो । पूर्ण क्षमतामा सञ्चालन हुँदा यसका गोदामहरू विकास निर्माणका सामग्री, मेसिनरी पार्ट्स, फलफूल, मदिरा, विद्युतीय सामग्री भण्डारणका लागि पनि प्रयोगमा आउने गरेका थिए । कार्यालय परिसर साढे ६ बिघा क्षेत्रफलमा फैलिएको छ । मन्त्रिपरिषद्को २०७४ जेठ ४ को निर्णयअनुसार ट्रेडिङअन्तर्गतका करिब ४ सय ५० स्थायी कर्मचारीलाई जेठ ७ देखि स्वेच्छिक अवकाश दिइएको थियो । वीरगन्ज कार्यालयअन्तर्गतका ५० कर्मचारीले पनि त्यतिबेला अवकाश पाएका थिए । मन्त्रिपरिषद्कै २०७६ साउन २८ को निर्णयले ट्रेडिङको सम्पत्तिको दायित्व खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दिएको छ । ट्रेडिङमा लामो समय काम गरेका प्रकाश थारु भवन र परिसर मर्मतसम्भारका लागि आएको बजेटको सदुपयोग नहुनु दुःखद भएको बताउँछन् । ‘वीरगन्जबाटै झण्डै १ करोड रुपैयाँ गोदाम भाडाबाट मात्रै आम्दानी हुन्छ,’ उनले भने, ‘एक वर्षको भाडा मात्रै पनि मर्मतसम्भारमा खर्च गर्ने हो भने यसका भवन र पूर्वाधारले नयाँ जीवन पाउने थिए ।
साभाल : कान्तिपुर