काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनमा मोबाइल अड्याउने ‘होल्डर’ राख्नेमाथि कारबाही अभियान थालेको छ । कम्पनीबाट बनेर आएको सवारीसाधनमा कुनै पनि प्रकारको ‘मोडिफाई’ गर्न नमिल्ने भन्दै कारबाही सुरु गरेको हो । एक सातायता सम्झाउने र नमाने कारबाही गरिँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
उनका अनुसार अहिले लापरबाही गरेको शीर्षकमा कारबाही गरिएको छ । सो कारबाही शुल्क ५०० देखि दुई हजार रुपैयाँसम्म छ । मोडिफाई अर्थात् सवारीसाधनको स्वरूप परिवर्तन गरेको आरोपमा कारबाहीमा परे पाँच हजारदेखि २० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको भट्टको भनाइ छ ।
सवारीसाधनमा ‘होल्डर’ राख्दा सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको जिकिर छ । तर, ट्राफिक प्रहरीले पठाओ, टुटल, इन्ड्राइभलाई लक्षित गरी कारबाही थालेको कतिपय व्यक्तिको बुझाइ छ । एसएसपी भट्ट भने पठाओ, टुटल चाकललाई मात्र नभई सबैका लागि नियम लागु हुने बताउँछन् । उनले भने, “पठाओ, टुटलविरुद्ध हामी छैनौँ । तर, सवारीसाधनको स्वरूप परिवर्तन हुन भएन ।