वीरगंज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्विकृती दिएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएकोमा अहिले १५ हजारले संख्या बढाइएको हो । निर्वाचनका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । म्यादी प्रहरीका लागि कुल ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई ७ अर्ब ९९ करोड ४९ लाख २ सय बजेट प्राप्त भएको छ ।
नेपाल प्रहरीका लागि १ अर्ब २३ करोड ५० लाख ९९ हजार २ सय तथा म्यादी प्रहरीका लागि ५ अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयले जनाएको छ । म्यादी प्रहरीको सेवा सुविधा ५० हजारको हाराहारीमा पु¥याइएको छ । आगामी निर्वाचनको लागि सरकारले नेपाल प्रहरीलाई बजेट स्वीकृत गरेसँगै निर्वाचनमा खटाइने म्यादी प्रहरीको सेवा सुविधा सर्वाजनिक भएको हो । कुल ४० दिनका लागि म्यादी प्रहरीले तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर ५० हजार हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ । निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले ७ दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउने छन् । उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार २ सय हुनेछ । उनीहरूले निर्वाचनको मुख्य ४ दिन प्रतिदिन ३ सयका दरले खाजा खर्च पनि प्राप्त गर्ने जनाइएको छ ।
सार्वजनिक भएको सेवा सुविधामा म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । म्यादी प्रहरीले पाउने सबै सुविधा जोड्दा ४० दिनका लागि कम्तीमा ४९ हजार २ सय ६० तलब प्राप्त गर्नेछन्। हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ । ३४ हजार ७ सय ६० तलव प्राप्त गर्ने म्यादी प्रहरीले रासनवापत ७ हजार २०० पाउने छन्। तर दुर्गममा खटिने प्रहरीको लागि त्यही ठाउँको रासन मूल्य बराबरकै रकम प्राप्त गर्नेछन् । त्यसरी रकम थप हुँदा म्यादी प्रहरीको तलब ५० हजार नाघ्ने छ । म्यादी प्रहरीलाई पोशाकका लागि ६ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा १ हजार थप पाउनेछन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ। यस्तै म्यादी प्रहरीलाई आवतजावत भाडा खर्चको र खाजा खर्चको मापदण्ड समेत तयार हुँदैछ । असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय कार्यालले जनाएको छ ।