वीरगंज । एक महिनाभित्र कृषि सामग्री कम्पनीका नौ र्याक युरिया मल वीरगन्ज आइपुगेका छन् । ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले साउन १३ देखि भारतको कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल ल्याउन सुरु गरेको कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारले जनाए । ‘साउन १३ मा पहिलो र्याक आएको थियो । भदौ १२ मा नवौं र्याक आएको हो,’ उनले भने, ‘कुल ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालयका लागि सिर्सिया सुक्खा बन्दरगाहमा २२ हजार ५ सय टन मल ल्याएको छ ।’
कुल ३० हजार टन युरिया मलमध्ये १० प्रतिशत अर्थात् ३ हजार टन मल बफर स्टक (सरकारी कार्यालय तथा आयोजनाहरूका लागि छुट्याउने) मा राखिएको छ । त्यसपछि बाँकी मलमध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र ४ हजार ५ हजार टन विराटनगर प्रादेशिक कार्यालयले पाएका छन् । भैरहवाको मल वीरगन्जबाट ट्रकमा ढुवानी गरी लगिएको छ । विराटनगरको मल कोलकाताबाट ट्रकमा ढुवानी गरी पूर्वी नाकाबाट विराटनगर ल्याइएको छ । कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जमा प्राप्त युरियामध्ये सोमबारसम्ममा ७ हजार ४ सय ५५ टन कार्यालय मातहतका जिल्ला कार्यालयमा परिचालन भइसकेको छ । वाग्मती, गण्डकी र मधेस प्रदेशका १६ कार्यालयमा सम्बन्धित जिल्लाबाट आएको माग र तिनलाई छुट्याइएको कोटाका आधारमा मल परिचालन गरिएको कुमारले जनाए ।
यस अवधिमा वाग्मतीको चितवनमा सबैभन्दा बढी ५ सय ५५, गण्डकीको कास्की र लमजुङमा १ सय ४७/१ सय ४७ र मधेसको धनुषामा १ हजार २ सय ३० टन मल युरिया मल परिचालन गरिएको उनले बताए । कम्पनीको डीएपी मल पनि आउन लागेको छ । डीएपी मल आपूर्तिको ठेक्का पनि ग्लोबल टेन्डरबाट स्विस सिंगापुर कम्पनीले नै पाएको कुमारले जनाए । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा कम्पनीले ल्याउन लागेको पहिलो रेलवे र्याक डीएपी मल भारतको रेलमार्गमा रहेको र बुधबारसम्म वीरगन्ज आइपुग्ने सम्भावना रहेको कुमारको भनाइ छ । ग्लोबल टेन्डरबाट दुई वटा ठेक्काबाट कम्पनीको ४० हजार टन डीएपी मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले पहिलो ठेक्काको २० हजार टन डीएपी मल कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागेको हो । स्विस सिंगापुरले इजिप्टबाट उक्त मल ल्याएको हो । नेपाल आउने डीएपी मल कुन नाकामा केकति आउने र कम्पनीको कुन प्रादेशिक कार्यालयले केकति पाउने भनी मंगलबार साँझसम्म कम्पनीको केन्द्रीय कार्यालयबाट जानकारी आउने उनले बताए । साभाल : कान्तिपुर