बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ मा आज शनिवार साँझ दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।
उपमहानगरको जीतपुरस्थित ललकापुल नजिक सिमराबाट जीतपुर तर्फ आउदै गरेको बा७१प २९७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको अर्को मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा परि गम्भिर घाईते भईका उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षिय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाईते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ । उनिहरुको अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनालगत्तै बृद्ध सवार मोटरसाईकलका चालक मोटरसाईकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाईतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।