वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी गुडी देवीको नक्सा पास भएको साढे ४ वर्ष बितिसक्यो । १९ माघ २०७४ मै गुडी देवीले नक्सा पास गराउने प्रक्रिया पूरा गरेकी थिइन् । प्रक्रियाबमोजिम उनको नक्सा १४ बैशाख २०७५ मा पास पनि भयो । तर नक्सा पास भयो कि भएन भन्ने बारे साढे ४ वर्षसम्म उनी बेखबर भइन् । बिचबिचमा पटक पटक सोधपुछ गर्न आउँदा पनि भएको छैन भन्दै फर्काइएको उनले दुखेसो गरीन् । त्यसपछि उनले नक्सा पास भएपछि आफै खबर आउला भन्ने आशमै साढे ४ बर्ष बिताइन् । यसअघि कसको नक्सा पास भयो, कसको भएन भन्ने कुनै सूचना नै महानगरले जारी गरेको थिएन ।
वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा राजेशमान सिंह आएसँगै नक्सा पास भएका व्यक्तिहरुको सूचना सार्वजनिक गर्ने परिपाटीको शुरुवात गरिएको छ । भदौ ७ गते वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना सार्वजनिक गर्दै नक्सा पास भइसकेका ३१ जनाको नामावली सार्वजनिक गरेका छ । सूचनामा उल्लेख भएबमोजिम २०७४ सालदेखि हालसम्म नक्सा पास भएर पनि हालसम्म ३१ जनाले बुझेका छैनन् । अबदेखि नक्सा पास गर्दाको झन्झटीलो प्रक्रिया हटाएर छिटो र छरितो काम हुने व्यवस्था मिलाइएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । उनले भने, “हामीले जनताको कामलाई छिटो र छरितो बनाउनुपर्छ र उनीहरुको काम भए नभएको बारेमा सुसुचीत पनि बनाउन आवश्यक छ । त्यसैले अबदेखि प्रक्रिया पुगेको छ र कुनै किसिमको विवाद छैन भने समयमै काम हुन्छ ।”
मेयर सिंहका अनुसार अँझै महानगरमा सुधार गर्नुपर्ने थुप्रै कामहरु छन् । समयअनुसार बिस्तारै सबै क्षेत्रमा सुधार हुने उनले बिश्वास पनि दिलाए । उनी भन्छन्, “मेयर पनि मान्छे नै हो, कुनै जादुको छडी हैन, एकैपटकमा सबै क्षेत्रमा चमत्कार हुनलाई । मलाई केही समय दिनहोस्, म सबै क्षेत्रमा नमुना काम गरेर देखाउँछु ।”