वीरगंज । देशका केही ठूला नदीहरूमा आज पानीको बहाव सामान्य र भोलि उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज हम्पचुवारस्थित सुनकोसी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, दमौलीस्थित सेती, बेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव सामान्य बढ्नेछ ।
भोलि सिम्लेस्थित अरुण, हम्पचुवारस्थित सुनकोसी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, कुमालगाउँस्थित कालीगण्डकी, बेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, दाङ, बाँके, कालीकोट, अछाम र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
भोलि प्रदेश नम्बर–१, वाग्मती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश भई बहने साना नदीहरूमा बहाव बढ्नेछ । प्रदेश–१, वाग्मती र मधेस प्रदेशका केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । भोलि कमला र वाग्मती नदीमा जलसतह उल्लेख्य बढ्ने र यसका केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।