वीरगंज । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्यासँग दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा पाँच विकेटको जितेको थियो ।
सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा छनोट हुने बाटो सहज बनाउनका लागि आईसीसी वरीयता सुधार गर्ने लक्ष्यसहित केन्या भ्रमणमा निस्केको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पछिल्लो समय खराब लयबाट गुज्रिएको केन्या पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँच खेलको शृंखलामा नेपाल १–० ले अगाडि छ । केन्या भ्रमणमा नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलासँगै तीन खेलको एकदिवसीय शृंखला पनि खेल्नेछ ।