जनकपुरधाम । जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियान समितिको नेतृत्वमा भएको प्रदर्शनका प्रदर्शनकारी र प्रहरबीच झडप भएको छ । बिहीबार प्रर्दशनकारीहरू मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीको हस्तक्षेपछि झडपको स्थिति सिर्जना भएको हो । मधेस भवन प्रर्दशन तथा आन्दोलन निषेध क्षेत्र हो । तर, प्रर्दशनकारीहरूले आफूहरूका मागप्रति सरकार गम्भीर नबनेको भन्दै मधेस भवनमा प्रवेश गर्न खोज्दा झडप भएको हो । प्रहरीले प्रदर्शन गर्ने १०० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूले मुख्यमन्त्री लालबाबु राउत र उद्योग, प्रर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतोको पुतलासमेत जलाएका छन् । उनीहरू डेढ महिनादेखि जनक चोकमा आन्दोलनरत छन् । ०७८ भदौ ४ गते उनीहरूसँग प्रदेश सरकारले सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यानव्यन नगरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । उनीहरूले सम्झौता कार्यान्वयन गर्नुपर्ने, भूमाफियाले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनुपर्ने र वास्तविक भूमिहीन सुकुम्वासीलाई जग्गा दिनुपर्ने माग गरेका छन् ।