वीरगंज । मानव अधिकारको उच्च सम्मान गर्दै कार्यक्षेत्रमा खटिन विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले प्रहरी जवानलाई निर्देशन दिएका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा बिहीबार आयोजित प्रहरी जवान १३९ औँ समूहको दीक्षान्त समारोहका क्रममा प्रहरी नायब महानिरीक्षक गिरीले प्रहरीले मानव अधिकारको उच्च सम्मान गर्दै शासक नभएर जनताको सेवकका रुपमा काम गर्नुपर्ने बताए।
कार्यक्रममा उनले जोखिमले भरिएको भए पनि मर्यादित प्रहरी पेशामा प्रवेश गर्न आफ्ना परिवार सदस्यलाई हौसला प्रदान गर्ने अभिभावकप्रति आभार व्यक्त गरेका थिए। दीक्षित भएका प्रहरी जवानलाई कार्य सफलताको शुभकामना दिँदै गिरीले निष्ठापूर्वक, इमान्दार र बफादार भएर उच्च मनोबलका साथ जनताको सेवामा खटिन निर्देशन दिए। समारोहबाट ७ सय १४ जना प्रहरी जवान दीक्षित भएका छन्। जसमा १ सय ५४ जना महिला र ५ सय ६० जना पुरुष रहेका छन्।
गत वर्ष असोज १८ गतेबाट सुरु भएको तालिम २ सय ३४ दिनमा समापन भएको हो। तालिमका क्रममा विराटनगरस्थित तालिम केन्द्रमा ५ सय २४, प्रदेश १ प्रहरी गण रानीमा ९८ र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिइएको थियो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले तालिममा सर्वप्रथम भएका अच्युतराज राईसहित विभिन्न नौ वटा विधामा उत्कृष्टता हासिल गरेका प्रशिक्षार्थी र तालिममा सहभागी प्रशिक्षकलाई प्रमाणपत्रसहित नगद पुरस्कारले पुरस्कृत गरेका थिए।