जनकपुर । जनकपुर जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै महोत्तरी बर्दिबासका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो बर्दिबासका स्थानीयले जनकपुरस्थित नेपाल रेल्वेको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।
सम्झौताअनुसारको मुआब्जा भुक्तानी नगरे कडा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।‘छलफलका लागि पटक–पटक समय दिने अनि निर्धारित समयमा हाकिम नै नबस्ने प्रवृति देखियो । अब कडा आन्दोलन गर्नुको विकल्प रहेन । आइतबारदेखि आन्दोलनमा जान्छौँ,’ बर्दिबासका शंकर फुँयालले भने । यसअघि साउन १९ गते यी किसानहरु जनकपुर आई मुआब्जा विवाद सुल्झाउन रेल्वेका कार्यालय प्रमुख विनोद ओझालाई लिखित ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण गराएको एक महिना बित्न लाग्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ ।
स्थानीय जग्गाधनी र रेल्वे कम्पनीबीच भएको सम्झौतामा पुरानो खोल्सी पैनीदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाखको दरले गरिएको थियो तर १० लाख प्रतिकठ्ठाको दरलेमात्र भुक्तानी दिइएको स्थानीयले बताए । नेपाल रेल्वे कम्पनीका कर्मचारीले २०७५ साल भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार मुआब्जा वितरण हुँदै आएको बताउँदै आएका छन् ।मूल्यांकन समितिले बर्दिबासस्थित नापी कार्यालय तथा स्थानीय सरोकारवालाहरुसँग विस्तृत राय सल्लाह गरी भिन्दाभिन्दै ३२ सूचकको आधारमा जग्गाको मुआब्जा निर्धारण गरेको रेल्वेको दाबी छ ।