वीरगंज । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बानियाँटारका ३ वर्षीय सुलभ परियार बुधवार साँझ घरको आँगनमा खेलिरहेका थिए । आमा लक्ष्मी परियार खाना बनाउनका लागि पिँढीमा बसेर आलु काट्दै थिइन् । डेढ वर्षीय भाइ आमासँगै थिए । त्यत्तिकैमा गाउँमा हल्लीखल्ली शुरू भयो । छिमेकमा घर रहेका शिक्षकले चितुवा आयो भन्दै चिच्याए । लक्ष्मी हातको आलु छाडेर आँगनमा निस्किइन् । आँगनमा टेक्न मात्र के पाएकी थिइन्, चितुवा सुलभलाई च्यापेर कुदिहाल्यो । लक्ष्मी चितुवाको पछिपछि दगुरिन् । हल्लीखल्ली गर्दै गाउँले पनि पछि लागे ।
करीब ५० मिटर पर पुगेर लक्ष्मीले चितुवाको पञ्जाबाट छोरालाई खोस्न सफल भइन् । घटना हुँदा घरमा नरहेका सुलभका बुवा एवं लक्ष्मीका पति सुवास परियारले भने, ‘लक्ष्मी आलु काट्दै थिइन् रे । छिमेकीको खसीलाई आक्रमण गरेको चितुवा हाम्रो छोरालाई च्यापेर भागेपछि उनी पछिपछि दगुरिछन् । ५० मिटर पर पुगेर चितुवाको मुखबाट छोरो खोस्न सफल भइछन् ।’ बुवा सुवास सहचालकको काम गर्छन् । चितुवाको पञ्जाबाट बाँच्न सफल भएका सुलभ अहिले चितवन मेडिकल कलेजमा उपचाररत छन् । बुवा सुवासका अनुसार सुलभको अपरेशन गरिएको छ । आमा लक्ष्मी छोरालाई कुरेर अस्पतालमै बसेकी छिन् । सुलभलाई अपरेसन थिएटरबाट आईसीयूमा ल्याइएको छ । बिहीवार बेलुकासम्ममा एनआईसीयूमा सार्ने तयारी रहेको चिकित्सकहरूले बताएका छन् । बलकको घाँटीको दुवैपट्टि चितुवाको पञ्जाले गहिरो चोट लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।‘घाँटीको दुईपट्टि चितुवाको पञ्जाको गहिरो छाप छ । अहिले बच्चा रोएको छ भन्ने कुरा आएको छ, अवस्था अझै पनि गम्भीर रहेको डाक्टरहरूले बताउनुभएको छ,’ अध्यक्ष थापाले भने ।
गाउँपालिकाले सुलभको उपचारका लागि एक वडा सदस्यलाई खटाएको छ । डिभिजन वन कार्यालय तनहुँ, बन्दीपुर गाउँपालिका र स्थानीय मिलेर बालकको उपचार खर्च व्यवस्थापन गरेको उनले बताए ।‘वनले हामी उपचार गर्छौं भन्नुभएको छ । हामीले पनि आर्थिक सहयोग गरेका छौं । शुरूमै केही स्थानीयले पनि पैसा उठाएर पठाउनुभएको छ,’ अध्यक्ष थापाले लोकान्तरसँग भने । छिमेकी हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएपछि चितुवा सुलभलाई बोकेर भागेको थियो । आमा लक्ष्मीले हिम्मत गरेर छोरालाई चितुवाको पञ्जाबाट फुत्काउन सफल भएकी हुन् । शुरूमा प्राथमिक उपचारका लागि सुलभलाई मोती हेल्थ क्लिनिकमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन लगिएको थापाले बताए ।