वीरगंज । गायक सुशान्त केसीको सांगीतिक कार्यक्रममा झगडा हुँदा विराटनगरका एक उद्यागी पक्राउ परेका छन्। विराटनगर ४ विमानस्थल मार्गमा रहेको एक रेष्टुरेन्टमा बुधबार राति सुशान्त केसीको कार्यक्रम राखिएको थियो। सोही क्रममा जानकी पोलिट्याङ्कका सञ्चालक सन्तोष चौधरीका छोराले झगडा गरेपछि उद्योगी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार राति कार्यक्रम बिथोल्ने गरी चौधरीका २२ वर्षीय छोरा सुजन चौधरीले झगडा सुरु गरेपछि तनाव उत्पन्न भएको थियो।
मदिरामा रमेका चौधरीलाई सुरुमा रेष्टुरेन्टका कर्मचारीहरूले सम्झाइबुझाइ गरेका थिए। तर, चौधरीले वादविवाद गर्न थालेपछि रेष्टुरेन्टमा कार्यरत बाउन्सरले कार्यक्रम बाहिर निकालेका थिए। यसक्रममा भारत फारबेसगञ्ज घर भएका ३१ वर्षीय श्रवण अली र सुरक्षा गार्ड इटहरीका ३३ वर्षीय सुमन चौधरीसँग सुजनको झगडा भएको थियो। सो क्रममा सुजनको टाउकोमा चोट लागेको थियो। मध्यरात घटनाबारे जानकारी पाएका सुजनका बुवा ४५ वर्षीय उद्योगी सन्तोष चौधरी २०-२२ जनाको युवासहित रेष्टुरेन्ट पुगेका थिए। प्रहरीका अनुसार सन्तोषको नेतृत्वमा मध्यरातमा पुगेको समूहले रेष्टुरेन्टमा तोडफोडको प्रयाससमेत गरेको थियो।
प्रहरी प्रमुख कोइरालाका अनुसार बाहिरबाट युवाहरू लगेर रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको पाइएपछि सन्तोषलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार घाइते सुजनलाई राति नै विराटनगर अस्पताल प्रालि भर्ना गरिएको थियो। प्रहरीका अनुसार टाउकोमा तीन टाँका लगाइएका उनको अवस्था सामान्य नै छ। रेष्टुरेन्टका बाउन्सर र सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरे पनि रेष्टुरेन्टका सञ्चालक अमन साह भने फरार रहेका छन्। प्रहरीका अनुसार गायक केसीलाई बोलाएर आयोजना गरिएको सांगीतिक कार्यक्रमको अनुमति प्रशासनसँग नलिएको खुलेको छ। मोरङ जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार कार्यक्रमका लागि आयोजक वा रेष्टुरेन्टले कुनै अनुमति लिएका छैनन्। विराटनगरमा सामान्यता होटल तथा रेष्टुरेन्टहरू राति १० बजेपछि बन्द गर्नुपर्ने नियम छ।