विराटनगर । युवाका दुई समूहबीच विराटनगरमा कुटाकुट हुँदा १० जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी दीपक श्रेष्ठका अनुसार मंगलबार साँझ विराटनगर महानगरपालिका–१२, मल्हन्वा टोलमा युवा समूहबीच झगडा भएको हो । घटनामा घाइते भएकाहरूको विराटनगरस्थित न्युरो र कोसी अस्पतालमा उपचार भइरहेको छ । एकजनाको अवस्था गम्भीर छ ।
घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । मल्हन्वा टोलका गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झगडा घाइते भएको हो । घटनामा राजु कामत, काली कामत, सञ्जय कामत, राजु कामतलगायत व्यक्ति घाइते भएको श्रेष्ठले जानकारी दिए । उनले भने, “पक्राउ परेकाहरूबाट घटना हुनुको कारणबारे थप अनुसन्धान थालेका छौँ ।”
प्रहरीका अनुसार साँझपख जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै थिए । राजकुमारको घरअगाडि जम्काभेट हुँदा दुई पक्षबीच विवाद सुरु भएको थियो । स्थानीय र प्रहरीले दुवैलाई सम्झाएर पठाएका थिए । तर, फेरि लाठी लिएर भेला भई दुवै पक्षबीच कुटाकुट भएको हो । केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले स्थानीय बालकलाई ठक्कर दिएको विषयमा युवा समूहबीच विवाद सुरु भएको डीएसपी श्रेष्ठले बताएका छन् । त्यो घटनामा दिनेशमाथि कुटपिट भएको थियो ।