वीरगंज । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दू अमलेखगञ्जमा ४१–४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी निर्माणको काम बाँकी छ ।
निगमका नवकार्यकारी निर्देशक सुशील भट्टराई नेतृत्वको टोली र भारतीय अधिकारीबीच भएको छलफलमा भदौ अन्तिमदेखि परियोजनाको दोस्रो चरणका काम थाल्ने प्रतिबद्धता भारतीय अधिकारीहरुले जनाएको वार्तामा सहभागी निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।मोतीहारी अमलेखञ्ज पेट्रोलियम पाइपलाइन परियोजनको दोस्रो चरणको काम अन्तरगत ८२ हजार लिटर क्षमताका २ वटा भण्डार ट्यांकी र त्यसमा इन्धन लोड अनलोडको पूर्वाधार बनाउन बाँकी छ । ४१ किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माणका लागि भारतीय आयल कर्पोरेसन र दोस्रोको लागि नेपाल आयल निगमले लगानी गर्ने समझादारी छ ।
२ वटा पेट्रोल ट्यांकीमा २४ वटा लोड अनलोड–वे निर्माण पनि हुनेछ । दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्नेछ । भण्डारण ट्यांकी निर्माणका लागि आवश्यक प्लेट पाताहरु नेपाल ल्याउने काम आईओसीले सुरु पनि गरिसकेको छ । नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगञ्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो । पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको थियो ।