वीरगंज । पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि मधेश प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता बढाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएको छ । यो सँगै मधेश प्रदेशमा सक्रिय कोरोनाको संख्या ६४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै आफू मातहत रहेका अस्पतालहरुलाई कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको व्यवस्थापन सुढृढ गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, कोरोनाले बढी प्रभावित संक्रमितको स्वास्थ्य उपचारको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्थापन गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि नारायणी अस्पताल वीरगञ्ज स्थित कोभिड विशेष अस्पताल संचालन गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा भेन्टिलेटरसहितको सुविधा उपलब्ध रहेको छ । त्यसैगरी, स्वास्थ्य निर्देशनालयले प्रदेशका ८ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिन निर्देशन दिएको छ ।