वीरगंज । सप्तकोसी नदीको बाढी उदयपुरको वेलका नगरपालिकाका–३, २, १, ९, ८ का बस्तीमा पसेपछि स्थानीयहरू विस्थापित भएका छन् । बाढी गाउँ बसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडेका छन् । सप्तकोसी नदीको बाढी गाउँ पस्दा अनुमानित ८००–९०० घरधुरी विस्थापित भएका नगर उपप्रमुख जिरा राईले जानकारी दिइन् ।
प्रभावित क्षेत्रका वासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारको काम गरिरहेका छन् । वेलका नगरपालिका प्रदेश सरकारका मन्त्री, प्रमुख जिल्ला अधिकारी (सीडीओ), स्थानीय जनप्रतिनिधिसहित बैठक बसिरहेका छन् ।
नगर उपप्रमुख राईले भनिन्, ‘तत्काल उद्धारमा प्राथमिकता गरिरहेका छौं, साँझसम्म सुरक्षित ठाउँमा व्यवस्थापन गर्छाैं । रेडक्रस, प्रदेश सरकार, स्थानीय सरकार सबैले सहयोगका लागि काम गरिराख्नुभएको छ ।’