वीरगंज । भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपैयाँ लागतमा सामुदायिक विकास परियोजनाको रूपमा यस भवनको निर्माण भएको हो ।